Skip to main content

फ्लयास ब्याक टु द फिउचर

सपनै सपनाहरूको चुलीबाट एउटा सपना टपक्क टिपेर कुनै दिन मेरो अँगालो भरी सजिएर उसले भनेकी थिई– ‘कान्छु, हाम्रो छोरीको नाउँ दिलाशा राख्ने है ।’
एकाबिहानै कसैले मेरो हातमा रातो रङ्गीन कागज थमाएर गयो । विवाहको कार्ड भित्र दिलाशा नाउँ देखेपछि म झस्किएँ एकपल अनि मेरो मस्तिष्कमा विगतको हरेक क्षण मडारिन थाल्यो ।
***

सिनेमा हेर्न बसे झैं एकाएक मेरो मानसपटलमा अतितका प्रत्येक दृश्यहरू घुम्न थाले। खुसी के हो? के होला सुख? कत्रो होला आकाङ्क्षाको सगरमाथा? कहाँ होला चाहनाको अन्तिम बिन्दु? के हो प्रेम? अनि सर्मपण? केलाई भनिन्छ त्यो ? धेरै पटक आफ्नै दाँतले आफ्नो जिब्रो टोकेको याद छ मलाई– अरे यार अनि कसरी गर्न सकिन्छ कसैलाई आफूलाई भन्दा धेरै बिश्वास ? कहाँबाट जन्म हुन्छ धोका र विश्वासघातको ? त्याग ? कसका लागि गरिन्छ त्यो ? सही र गलतको मापन कसरी गरिन्छ ? थाहा छ पीडाले सबैलाई सताउँछ अनि दुखाउँछ ।
यति बुझ्दा बुझ्दै पनि मान्छे कसरी अरूलाई पीडाको समुन्द्रमा धकेलेर आफू खुसीको सागरमा तैरिन सक्छन् होला! चोटको साथमा किन सधै आँसु मात्र आउँछ? के सधैं एकै खाले पीडाले उत्तिकै  आँसुको आहाल जमाउँछ होला र ? उसो त म बेतुकका कुराहरू सम्झेर मनमा खेलाएर बस्ने मान्छे त हैन, तर आज अनायासै यी प्रश्नहरू कुन्नि किन हो गुडुल्किँदै छन् भित्र भित्रै । मैले आफ्नै जीवनसँग यो प्रश्न सोध्न पर्ने थियो । वर्षौ पहिले तर त्यो पल मेरो जीवन केवल मुकदर्शक बनिदियो, न बोल्यो न केही बुझायो । बन्यो त केवल जिउँदो लाश।
मैले जीवनमा जे जे पाएँ त्यो चाहना थियो या भनौं मेरो चाहना सबै प्राप्त भयो । मलाई आफ्नो जीवनसँग गुनासो छैन, न त कहिले थियो नै । म कहिले केही कुरा सोचेर गर्दिनँ, बरु गरेपछि सोच्छु । जीवन एउटा नाटक हो, मेरो जीवन पनि त्यस्तै नाटक लाग्छ मलाई। आफ्नो भूतलाई नजिकबाट नियाल्ने हो भने मलाई कुनै नाटकघरमा अद्भूत अनौठो किसिमको नाटक मञ्चन हुँदै गरेको महसुस हुन्छ । जीवनले दियो मलाई मैले चाहेको हरेक खुसीका धर्साहरू । कहिले केही नपाउँदा पनि रोइन म, कहिले सबै पाउँदा पनि हाँस्न सकिन म ।
कहिले अपूर्ण हुँदा पनि हाँसेको थिएँ म, कहिले पूर्ण हुँदा पनि रुँदै थिएँ । त्यसैले सायद जीवनलाई जीवन भनिएको रैछ, कहिले सरल भएन त्यो । त्यो त स्वचालित थियो । म त जीवनरुपी नाटकको एक पात्र, डाइरेक्टर अरु नै कोही थियो । म डाइरेक्टरको निर्देशन बमोजिम आफ्नो भूमिका निभाउँदै थिएँ । जीवन अँजुली भरीको पानी रैछ जसको भाग्य बलियो छ उसले धेरै पाउँछ नत्र थोरै । मैले कहिले हद पार गरेर रोज्दा नपाएको कुरा मोह हराएसी पाएँ । माया मारिसकेसी देखायो जीवनले सपना पूरा हुने आशाका स–साना किरणहरू।
मलाई कहिले रिस उठेन, कहिले दया जागेन, न त कहिले गुनासो रह्यो आफ्नो जीवनसँग । मलाई गुनासो थियो बरु अरु कसैको जीवनसँग, जसको जीवनमा मेरो अस्तित्व अमूर्त बनेर बसेको थियो । म त्यो सम्मान या त्यो स्थानको लायक नै थिइन कहिल्यै । हरसम्भव प्रयास गरेँ उसको जीवनबाट आफ्नो अस्तित्वको सर्वनाश गर्न मलाई के थाहा थियो र त्यो गर्न खोज्दा म उसको अस्तित्वको हत्या गर्दै थिएँ भनेर ! अरे कोही कसैलाई कसैको यति धेरै चाहना यति धेरै प्रेम पनि हुन्छ र ! कति पटक ऊ तयार थिई मेरो उपस्थितिलाई आफ्नो जीवनबाट पर धकल्न, म कसरी खुसी हुन सक्थेँ र कोही मेरो खुसीको लागि आफ्नो खुसीको मलामी जाँदै गरेको देख्दा । अँ कतै कतै यी र यस्तै कुराले घचघचाउँछ जीवनलाई ।
एकान्तमा आफैंलाई खोजी गर्ने क्रममा म आफ्नो मनको फ्ल्यासब्याक बटनलाई थिच्छु । हेर्दै जाँदा जीवन एक ठाउँमा गएर टक्क अडिन्छ । ती सम्झनु पर्ने कुराहरू त होइनन् तर पनि आइदिन्छ अवचेतन मनमा नचाहँदा नचाहँदै । नियतिले कस्तो मिठो मजाक ग¥यो मसँग त्यतिबेला । मेरो लागि त मिठै थियो बनिदियो नमिठो तितो र टर्रो अरु कसैको लागि । त्यसले सधै अन्तरकुन्तर केलायो, निफन्यो । कहिले मेरो चाहना पन्छायो कहिले अरु कसैको चाहना पन्छायो । फेरि निफन्यो । अन्तिममा पन्छिने क्रममा अरुकै चाहना पन्छियो सँगालिने भागमा मेरै चाहनाहरू मात्रै सँगालिए ।
यसो सोच्दै गर्दा एकाएक स्पर्श गर्छ उसको सम्झनाले । को भनेर सम्बोधन गरौँ म उसलाई, प्रेमी भनौँ सायद कहिले त्यो किसिमको प्रेम पलाएन मेरो मनमा उसका लागि । साथी भनौँ ऊ मलाई आफू रित्तिएर प्रेम गर्थी । अनौठो सम्बन्ध थियो हाम्रो, मैले नमागेरै सबै थोक पाउँथे ऊ बाट । उसले चाहेर पनि केही मागिन मसँग। म बुझ्थेँ उसको मप्रतिको प्रेम, न त उसलाई आफूलाई प्रेम गर्न रोक्न सक्थेँ म, न त उसले कहिले आफूलाई प्रेम गर्नैपर्ने चाहना राखी मेरो सामु । ऊ सधैं आफ्नो मनको गाग्रो खाली पारेर मेरो मनको घडा भर्न तम्सीरही।
एउटा यस्तो मोड आएको थियो जीवनमा जुन मोडमा पुगेपछि सोचेको थिएँ मैले सधैंका लागि उसको हात थाम्छु 
भनेर। मेरो आफ्ना सपनाहरूका सारा बाटा बन्द भैसकेका थिए। मलाई उसको माया लाग्यो या उसको एकोहोरोपन प्रति दया लाग्यो कून्नि के भयो! जे होस् मैले स्वीकारेँ उसलाई अझ भनौ मैले सम्झौता गर्ने निर्णय लिएँ आफ्नै जीवनसँग आफ्नै मनसँग । उसो त त्यसलाई दयाको नाउँ कसरी दिउँ, म कयौँ पटक रोएको छु उसको पीडामा उसँगै। उसको हाँसोमा आफ्नो पनि मुस्कान मिसाएको छु मैले । खैर, उसको जीवनको क्यानभाषमा छर्की दिएँ खुसीको रङ्गको सानो छिटा जीवनभरीलाई पुग्ने रङ्ग दिने शर्तमा।
ऊ त्यो थोरै छिटालाई पनि धेरै उपयोग गर्न खोज्थी । आखिर उसलाई रङ्गाउनु थियो आफ्नो सँगै मेरो जीवन पनि । मेरा श्यामश्वेत रहरहरू बिलिन हुने तर्खरमा थिए, । ऊ मेरो चाहना थिइन तर ऊ मेरो जिम्मेवारी बनिदिई । मैले सोचेको थिएँ जीवनको यात्रामा समयले साथ दिउन्जेल सधैं हात थामेर हिँड्छु भनेर । उसको मनको बिश्वासले अर्को ऊर्जा दिन्थ्यो मेरो मनलाई । मलाई वास्तविक्तामा जिउनु थियो, मलाई थाहा थियो म उसको प्रेम थिएँ अनि म आफै जोडिन गएँ उसको जीवनमा उसका अप्राप्य सपनाहरूलाई बिपनाको बाटो देखाउन । भन्ने नै हो भने आफैंले देखाउन थालेँ उसलाई हाम्रो अकल्पनीय भविष्यको धमिलो धमिलो मानचित्र ।
फेरि पनि नियतिले अरू नै केही लेखेको रैछ । समय हाम्रो साथमा रहेन । ऊ मसँगै थिई त्यसले डोहोराएर पुर्याउने अर्को मोडसम्म । जिन्दगीले उसको साथमै पुर्यायो मलाई त्यो दोबाटोमा जुन दोबाटो पुगेपछि मलाई रोज्नु पर्ने भयो आफ्नो प्रेम र जिम्मेवारी मध्ये कुनै एक । दुबैलाई सँगै लिएर हिँड्न सम्भवको कुरा थिएन । अचम्म लाग्छ जीवनलाई फेरि दिनु नै थियो भने किन खोसेर लग्यो मेरा सपनाहरू ! त्यो त ठिकै थियो फेरि अँध्यारोमै धकेल्नु थियो त किन दियो त उसलाई उज्यालोको सानो प्रकाश ? नियतिलाई खोस्नु रैछ उसको जीवनको हाँसो, मलाई मेरा खुशीहरू दान दिएर । गज्जबको खेल खेलिदियो त्यसले । उसले आफ्ना सपनाहरू प्राप्त गर्न मैले मेरा सपनाहरूको दहासंस्कार गर्नु पर्ने थियो, मैले मेरो सपनाहरू प्राप्त गर्न उसलाई उसका सपनाहरूको बली चडाउन पर्ने थियो । मैले जिम्मेवारी त्यागेँ आफ्नो प्रेमको लागि । उसले आफ्नो प्रेम त्यागी मलाई सधै खुसी राख्न पर्ने जिम्मेवारीलाई सम्झेर । अचेल लाग्छ प्रेम पनि एउटा सम्झौता हो । आफ्नो खुसी र सन्तुष्टिका लागि गरिने सम्झौता । म सजिलै अड्कल काट्न सक्थेँ उसको मनोदशा सायदै कतै खुसी थिई मेरो खुसी सम्झेर, कतै दुःखी थिई होली मृत्युबरण गरेको आफ्ना रहरहरूको शोकमा। कतै रोई होला मैले सधै साथ दिन्छु भनेर दिएको पुरा हुन नसकेको बाचा सम्झेर, कतै हाँसी होली आफूले सधै खुसी राख्छु भनेर पूरा गरेको आफ्नो बाचा सम्झेर।
खै किन खेल्यो जीवनले यस्तो खेल, कसैलाई हँसाउन कसैलाई रुवाउनै पर्ने यो नियम हो या बाध्यता ? म अरुको नहुन्जेल ऊ मेरै भैरही । उसले सधैं मेरो हाँसो हेरी आफ्नो सन्तुष्टी भन्दा अगाडि । गन्तव्य थिएन तर पनि हात थामीरही मेरो । उनी एकै ठाउँमा लाखौं पटक घुमीरही अनि अन्त्यमा महसुस भयो सम्बन्ध जहाँबाट सुरु भएको थियो त्यहीँ रहेछ त्यसको अन्तीम बिन्दु पनि । सायद सम्बन्ध सुरु नै भएको थिएन, एउटा भ्रम थियो त्यो । म अरुको भएपछि बिदाइको अन्तिम साइत दिन ऊसँग भएको त्यही आफ्नो रित्तो गाग्रोलाई आफ्नै आँसुले भरेर मेरो सुन्दर भविष्यको प्रार्थना गरेर बिलिन भै मेरो जीवनबाट।
मैले उसलाई केही पलको लागि “एक” दिएँ प्रफुलित बनाएँ, अनि केही छिनमै लुटेर हिँडेँ उसको साथको “सय” सँगै आफूले दिएको एक पनि तर अझै मलाई कुनै गुनासो नभिराई गै ऊ । आफ्नै जीवनलाई सयौ प्रश्नहरू खडा गरेर ।
***
अनि ऊ एक्लैले पोती जीवनलाई सुन्दर पाटीमा, आज पूर्ण छे ऊ । नियतिले उसको एउटा खुसी खोस्यो र खोलीदियो लाखौँ मुस्कानको ढोकाहरू । आज ऊ सफल छे, एक सफल गृहीणी, एक सफल आमा । आज देखेँ उसको आँखामा सन्तुष्टीको चम्किलो प्रकाश जब आफ्नी छोरीको बिहेको निम्तो दिँदै थिई मलाई। जाँदा जाँदै आज छोडेर गई आफ्नो उही पुरानो मुस्कानको मिठो छाप मेरो नयनभरी। के बिर्सी होली र उसले आफ्नो अतितको अति प्रिय म पात्रलाई ? हुन त अचेल मभन्दा प्रिय मेरा यादहरू होलान् । ती यादहरू भन्दा अझै प्रिय उसको आफ्नो जिम्मेवारी । उतीबेला उसलाई जाने बेला भनेको थिएँ– सधै खुसी हुनू भनेर । आज ऊ मुस्काएकी छे भ्रमरहित आफ्नो वर्तमानमा ।

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

You are not a failure !

You are not a failure until you allow your mistake to define what kind of person you are. Failure is, when your hopes, going things not going the way you wanted them to. Failure may be defined in different case, just as in studying, playing, love, in being a good person, in holding the relation etc.  The definition of failure is different for us. Most of us take on the identity of a failure without really knowing what it is all about.  Failure according to the dictionary is ceasing to function, breaking down, non performance and I have found that our definition of breakdown, non performance are not correct. We think that we are a failure when our parents give up on us or when we make the same mistake again and again or when after a long time we are not getting success, we have always dreamt or when we re not financially sound in life as we hope to be. These situations are not what make a failure. They may be setbacks, defeats, low determinations, that are to be overc...