सपनै सपनाहरूको चुलीबाट एउटा सपना टपक्क टिपेर कुनै दिन मेरो अँगालो भरी सजिएर उसले भनेकी थिई– ‘कान्छु, हाम्रो छोरीको नाउँ दिलाशा राख्ने है ।’ एकाबिहानै कसैले मेरो हातमा रातो रङ्गीन कागज थमाएर गयो । विवाहको कार्ड भित्र दिलाशा नाउँ देखेपछि म झस्किएँ एकपल अनि मेरो मस्तिष्कमा विगतको हरेक क्षण मडारिन थाल्यो । *** सिनेमा हेर्न बसे झैं एकाएक मेरो मानसपटलमा अतितका प्रत्येक दृश्यहरू घुम्न थाले। खुसी के हो? के होला सुख? कत्रो होला आकाङ्क्षाको सगरमाथा? कहाँ होला चाहनाको अन्तिम बिन्दु? के हो प्रेम? अनि सर्मपण? केलाई भनिन्छ त्यो ? धेरै पटक आफ्नै दाँतले आफ्नो जिब्रो टोकेको याद छ मलाई– अरे यार अनि कसरी गर्न सकिन्छ कसैलाई आफूलाई भन्दा धेरै बिश्वास ? कहाँबाट जन्म हुन्छ धोका र विश्वासघातको ? त्याग ? कसका लागि गरिन्छ त्यो ? सही र गलतको मापन कसरी गरिन्छ ? थाहा छ पीडाले सबैलाई सताउँछ अनि दुखाउँछ । यति बुझ्दा बुझ्दै पनि मान्छे कसरी अरूलाई पीडाको समुन्द्रमा धकेलेर आफू खुसीको सागरमा तैरिन सक्छन् होला! चोटको साथमा किन सधै आँसु मात्र आउँछ? के सधैं एकै खाले पीडाले उत्तिकै आँसुको आहाल जमाउँछ होला ...